एकाइ ९ सहरीकरण र बसाइ सराइ
पाठ :7 बसाइँसराइको प्रभाव
१. तलका प्रश्नको उत्तर दिनुहोस् :
(क) आप्रवासी कामदारले भोग्नुपरेका मुख्य समस्या र चुनौतीहरू उल्लेख गर्नुहोस् ।
उत्तरः रोजगारीमा जाने व्यक्तिको सुरक्षा, प्रवासी कामदारहरूको अधिकार, सम्मानित कामको ग्यारेन्टीको अभावले कैयौं युवाहरू घरवारविहीन र वेपत्ता भएका छन् । धेरै नेपाली आप्रवासी श्रमिकहरूले भ्रामक, गैरपारदर्शी छनोट प्रक्रिया र अत्यधिक शुल्क जस्ता चुनौतीहरूको सामना गरिरहेका छन् । यसका अतिरिक्त उनीहरू चर्को ब्याजदर भेदभाव नजरबन्द र बेचबिखन जस्ता समस्याबाट पनि ग्रसित भइरहेको विभिन्न अध्ययनहरूले देखाएकाछन् ।
(ख) सुरक्षित आप्रवासनका लागि राज्यले अवलम्बन गरेका नीतिहरूको समीक्षा गर्नुहोस् ।
उत्तर: वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनु र वैदेशिक रोजगारबाट आर्जित सिप, प्रविधि र पुँजीको उपयोगबाट आन्तरिक रोजगारी प्रवर्धन गर्नेतर्फ पनि जोड दिएको छ । वैदेशिक रोजगार ऐन र नियमावलीले अन्तर्राष्ट्रिय श्रम मापदण्ड र मर्यादित श्रमको एजेन्डालाई प्रतिबिम्बित गर्ने विस्तृत, गैर भेदभावपूर्ण, समावेशी र पारदर्शी प्रावधानहरू तर्जुमा र कार्यान्वयन गर्ने अवसर प्रदान गर्ने प्रावधान राखेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहबाट सुरक्षित श्रम आप्रवासनका लागि सूचनाको प्रचारप्रसार तथ्याङ्क सङ्कलन, सिपमूलक तालिम, वित्तीय साक्षरता र सामाजिक तथा आर्थिक पुनः एकीकरणका कार्यक्रमहरू गर्नुपर्ने प्रावधना राखेको छ ।
(ग) सुरक्षित आप्रवासन भनेको के हो ?
उत्तर: सुरक्षित आप्रवासन भन्नाले आप्रवासी कामदाहरूको आप्रवासन प्रक्रियाका सबै चरणहरू (जस्तैः उत्पत्ति स्रोत वा मूल, पारगमन र गन्तव्य देशहरूमा आइपर्ने सम्भावित जोखिमबाट सुरक्षित रहने क्षमता) लाई बुझाउँछ
(घ) सुरक्षित आप्रवासनका लागि नेपालमा गरिएका विभिन्न प्रयासहरूको विवरण तयार पार्नुहोस्
उत्तरः सुरक्षित आप्रवासन परियोजना नेपालले दक्षिण एसियाली देशहरूमा श्रमिकहरूको अधिकार र सुरक्षित आप्रवासका बारेमा बहस पैरवी गर्दै आएको छ । यसले आप्रवासीहरूको क्षमता अभिवृद्धि गरी कानुनी सुरक्षा, सामाजिक सेवामा पहुँच, एक्लोपन, कलङ्क, भेदभाव, भाषिक अवरोध र सांस्कृतिक भिन्नताहरूसँग समायोजन हुने तरिकाहरूमा समेत परामर्श दिँदै आएको छ ।
(ङ) सुरक्षित आप्रवासनका लागि विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थाले गरेका योगदानको चर्चा गर्नुहोस् ।
उत्तरः संयुक्त राष्ट्र सङ्घको महासभाले १९९० मा आप्रवासी कामदारहरू तथा तिनीहरूका परिवारका सदस्यहरूका अधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको थियो यस महासन्धिमा ९३ ओटा धाराहरू छन्, जुन २००३ देखि लागु भएको छ यो महासन्धिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारहरू, नागरिक र राजनीतिक अधिकारहरू, जातीय समानता, महिला अधिकार र बाल अधिकार आदिलाई विशेष रूपले ध्यान दिएको छ । यस महासन्धिले अन्तर्राष्ट्रिय श्रम सङ्गठनका आप्रवासनसम्बन्धी महासन्धिहरूलाई ध्यानमा राखेको छ यसले कामदारहरूबिच राष्ट्रियताका आधारमा भेदभाव नगरिने, अधिकारलाई सुनिश्चित गर्दै आप्रवासी कामदारहरूका मानव अधिकारहरूलाई मान्यता दिई त्यस्ता अधिकाहरूको संरक्षण गर्ने दायित्व त्यस महासन्धिका पक्ष राष्ट्रहरूलाई तोकेको छ ।